वीरगन्ज । वीरगन्जको साउथसिटी हिमाल हस्पिटल एक गर्भवती महिलाको मृत्युको घटनापछि फेरि विवादको भुमरीमा फसेको छ।
रौतहटकी रुबी खातुनको उपचारको क्रममा भएको अचानक मृत्युले अस्पतालको सेवाको गुणस्तर र जवाफदेहितामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
बुधबार बिहान ४ बजे प्रसूति पीडासहित अस्पताल भर्ना भएकी खातुनलाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले उपचार गरिरहेको थियो। तर, रात नबित्दै उनको मृत्यु भएपछि मृतकका श्रीमान् मोहम्मद मुस्ताकसहित परिवारजनले अस्पताल प्रशासनमाथि ‘गम्भीर लापरवाही’को आरोप लगाएका छन्।
मृतकका श्रीमान् मुस्ताकका अनुसार, बिरामीको अवस्था गम्भीर बन्दै गएको भन्दै परिवारले बारम्बार डाक्टरलाई सचेत गराएका थिए। ‘हामीले जति भन्दा पनि अस्पताल पक्षले ‘सब ठिक छ, चिन्ता नलिनु’ भन्दै हामीलाई विश्वास दिलायो,’ मुस्ताकले आक्रोश व्यक्त गर्दै भने, ‘तर अवस्था बिग्रँदै जाँदा समयमै आवश्यक उपचार र निर्णय गर्न ढिलाइ भयो र राति एक्कासि मृत्युको खबर आयो।’ परिवारको आरोप छ कि अस्पतालले ‘गम्भीर अवस्था’लाई बेवास्ता गर्यो।
यता, अस्पताल प्रशासनले भने परिवारको आरोप ठाडै अस्वीकार गरेको छ। नाम नखुलाउने सर्तमा एक अधिकारीले भने, ‘बिरामीलाई अत्यावश्यक मापदण्डअनुसार नै उपचार गरिएको थियो र मृत्यु उपचारकै क्रममा भएको हो, कुनै लापरवाही भएको छैन।’ तथापि, घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक रूपमा छानबिन सुरु गरिएको जानकारी अस्पतालले दिएको छ।
यो घटनाले साउथसिटी हिमाल हस्पिटलको सेवामाथि प्रश्न उठाउने यो पहिलो अवसर भने होइन। यसअघि पनि अस्पताल बढी शुल्क असुलेको आरोपमा विवादमा तानिएको थियो।