वीरगन्ज । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्।
नियमित कक्षा सञ्चालनको माग गर्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले आज बिहान क्याम्पसको मुख्य गेटअगाडि धर्ना दिएका छन्।
विद्यार्थीहरूका अनुसार साउन महिनादेखि अहिलेसम्म एक दिन पनि कक्षा नियमित रूपमा सञ्चालन हुन सकेको छैन। यसका कारण अध्ययन र आसन्न परीक्षा प्रभावित भएको भन्दै विद्यार्थी आक्रोशित बनेका छन्।
विद्यार्थी शिवशंकर प्रसाद कुशवाहाले आक्रोश व्यक्त गर्दै भने, ‘हामीलाई नियमित पढाइ चाहिएको मात्र हो। यदि परीक्षामा असफल भयौं भने यसको जिम्मेवार को हुने ?’ उनीहरूले कानुन संकायसहित सबै संकायका कक्षा नियमित नभएको गुनासो गरेका छन्। विद्यार्थीहरूले क्याम्पस प्रशासन र शिक्षक–कर्मचारीले आफ्नै स्वार्थका लागि विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाएका छन्।
पठनपाठन अवरुद्ध हुनुमा शिक्षक र कर्मचारीबीचको विवाद समाधान गर्न क्याम्पस प्रशासन असफल हुनु नै मुख्य कारण रहेको विद्यार्थीहरूको आरोप छ। यता, शिक्षक र कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय गर्दै मंगलबारदेखि क्याम्पस प्रमुखको कार्यकक्षसहित प्रशासनिक कोठाहरूमा ताला लगाएका छन्।
कर्मचारी युनियनका अध्यक्ष विनोद यादवद्वारा जारी विज्ञप्तिमा क्याम्पस प्रमुख किशोरी राय यादवमाथि गैरजिम्मेवार व्यवहार, झुटा आश्वासन र मनोमानी निर्णयको आरोप लगाइएको छ। युनियनले विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधाका लागि आन्दोलनरत रहेको जनाएको छ।
उनीहरूको माग असोज २० गतेसम्म पूरा गर्ने भनिए पनि पहल नभएकाले बाध्य भएर तालाबन्दी गरेको युनियनको भनाइ छ। उनीहरूले बजारको तुलनामा ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्।
यसै विषयमा क्याम्पस प्रमुख यादवले भने ‘क्याम्पसको नीतिनियम संशोधन र नयाँ व्यवस्था लागू गर्दा असन्तुष्टि देखिएको’ प्रतिक्रिया दिएका छन्। उनले समस्या समाधानका लागि छलफल जारी रहेको बताएका छन्।
हाल शिक्षक–कर्मचारीको आन्दोलन र विद्यार्थीको धर्नाका कारण क्याम्पसको सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य ठप्प भएको छ।