ट्रेन्डिङ

दमकल नपठाएको आरोपमा बालेनको प्रष्टीकरण : ‘राज्य नै ठप्प थियो, आन्दोलनकारीले रोके’

वीरगन्ज । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको घटना र सिंहदरबार जल्दा महानगरको दमकल नपठाएको भन्दै लागेको आरोपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले करिब एक महिनापछि मुख खोलेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो प्रष्टीकरण लेख्दै आरोप अस्वीकार गरेका छन्।

बालेनले भदौ २४ गतेको अवस्थालाई ‘देश नै अस्तव्यस्त’ र ‘राज्य नै ठप्प’ रहेको भन्दै सम्पूर्ण सुरक्षा संरचना ढलेको दाबी गरेका छन्। उनले यस्तो पूर्ण अराजक स्थितिमा पनि महानगर आफ्नो दायित्वबाट पछि नहटेको जिकिर गरेका छन्।

सिंहदरबार जल्दा दमकल नपठाएको भन्ने मुख्य आरोपको खण्डन गर्दै बालेनले भनेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन ।’

उनका अनुसार हुलले काम गर्न नदिएकै कारण नेपाली सेनाको दमकल समेत सिंहदरबारभित्रै हुँदा निभाउने प्रयास गर्न सकेको थिएन। भीड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको उनले उल्लेख गरेका छन्।

मेयर साहले २४ गते मात्रै होइन, आन्दोलन सुरु भएको भदौ २३ देखि २८ गतेसम्म महानगरको दमकल काठमाडौँ उपत्यकाभित्र ५५ पटक भन्दा धेरै स्थानमा पुगेको विस्तृत विवरण दिएका छन्। जसमा संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सर्वोच्च अदालत परिसर, जिल्ला अदालत, ट्राफिक प्रहरी कार्यालय, विभिन्न प्रहरी वृत्त र भाटभटेनी लगायतका व्यापारिक प्रतिष्ठानहरू पनि समावेश छन्।

बालेनले आगो निभाउने कार्यबाहेक घाइतेको उपचार र शव व्यवस्थापनमा पनि महानगरको टिम दिनरात खटिएको बताएका छन्। उनले सङ्घीय सरकारले घोषणा गर्नुअघि नै महानगरभित्रका सम्पूर्ण अस्पताललाई निःशुल्क उपचारको लागि समन्वय गरिएको, नपुग स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरिएको दाबी गरेका छन्।

उनले अफवाह फैलाउनेहरूबाट सावधान रहन जनतालाई आग्रह गर्दै बिना तथ्य निष्कर्ष निकाल्ने विश्लेषकहरू र मिडियालाई सत्य तथ्य खोजेर मात्र समाचार लेख्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै