ट्रेन्डिङ

निर्वाचन आयोग असोज ३० मा २८ दलहरूसँग संवाद गर्ने

वीरगन्ज । आसन्न प्रतिनिधि सभा चुनावको कार्यतालिका राजनीतिक दलहरूसँगको संवादबिना सार्वजनिक गरिएको भन्दै आलोचना बढेपछि निर्वाचन आयोगले छलफलको तयारी गरेको छ।

आयोग उच्च स्रोतका अनुसार, आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्न लागेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसअघि भदौ २३ गते दलहरूसँग छलफल गर्ने तयारी गरिए पनि जेनजी आन्दोलनका कारण प्रभावित भएको र अब जतिसक्दो चाँडो छलफल गर्न लागिएको जानकारी दिए।

आयोगले गत निर्वाचनमा प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सिट जितेका सबै दलसँग छलफल गर्ने तयारी गरेको छ। आयोगका अनुसार यसरी आमन्त्रण गरिने दलहरूको संख्या २८ रहेको छ। ती दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि पत्राचार गर्ने तयारी भइरहेको छ।

राजनीतिक दलहरूले आयोगले सार्वजनिक गरेको तालिकामा मनोनयन दर्ता मिति उल्लेख नगरेको भन्दै आलोचना गरिरहेका छन्।

प्रवक्ता भट्टराईले यस सम्बन्धमा स्पष्टीकरण दिँदै अहिले निर्वाचन कार्यतालिका मात्रै सार्वजनिक भएको र विस्तृत निर्वाचन कार्यक्रम मा मनोनयन दर्ताको समय तोकिने बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै