ट्रेन्डिङ

आज बडादसैँ, टीकाको उत्तम साइत कति बजे ?

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर उत्साहपूर्वक मनाइँदैछ ।

आजका दिन मान्यजनको हातबाट देवी दुर्गाको प्रतीक स्वरूप टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको समितिका सदस्य डा. बासुदेव कोइरालाले जानकारी दिए ।

उनका अनुसार विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य व्यक्तिले साइत खोज्न आवश्यक पर्दैन ।

तर राज्य सञ्चालकहरुले भने साइतमै टीका ग्रहण गर्नुपर्ने परम्परा रहेको छ । समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार टीका लगाउनु अघि दुर्गा विसर्जन गर्नुपर्ने नियम छ ।

टाढा जानुपर्ने बाध्यता भए बिहानै विसर्जन गरेर पनि टीका लगाउन सकिने उनले बताए ।

आजका दिन गुरु–पुरोहित, हजुरबुबा–हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाबाट टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने चलन छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने प्रचलन रहेको छ ।

कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको व्रत बसेर पूजा गरी दशैं पर्व समापन गर्ने परम्परा छ ।

नेपालभरिकै साथै विदेशमा रहेका नेपालीले समेत सामूहिक रूपमा टीका–जमरा ग्रहण गर्दै विजयादशमी मनाउने गर्छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै