वीरगन्ज । चाडबाडको मौका छोपेर बढी भाडादर असुल्ने र टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले कडा चेतावनी दिएका छन्।
यात्रुहरूबाट निरन्तर गुनासो आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले स्वीकृत भाडादरभन्दा बढी शुल्क लिए तत्काल कारबाही गरिने बताएका छन्।
यात्रुहरूलाई कुनै पनि व्यवसायीले कानूनको प्रतिकूल हुनेगरी भाडा असुलेमा तत्काल खबर गर्न उनले आह्वान गरेका छन्। मन्त्री घिसिङले यस्तो गैरकानूनी काम गर्ने व्यवसायीलाई तत्काल कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले हाल देशमा विद्यमान विषम परिस्थितिलाई ध्यान दिँदै यातायात व्यवसायीसहित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
उनको सचिवालयद्वारा जारी प्रेस नोटमा स्पष्ट भनिएको छ, ‘यात्रुलाई अनावश्यक दुस्ख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ।’
यदि यातायात व्यवसायीले यी आग्रहलाई बेवास्ता गरी कानून विपरीतका क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न पनि मन्त्री घिसिङले यात्रुहरूलाई अनुरोध गरेका छन्। दशैं लगायतका पर्वमा यात्रु ठगिने क्रम नरोकिएपछि मन्त्री घिसिङले यो कडा कदम चालेका हुन्।