काठमाडौं । मनसुनी र स्थानीय वायुको प्रभाव कायम रहँदा आज देशभर सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ ।
तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र बाँकी भू–भागमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।