महोत्तरी । मधेसमा चलिरहेको शारदीय नवरात्र तथा दशहारा पर्वअन्तर्गत आज मिथिलाको अद्वितीय परम्परा ‘बेलनौत’ विधि उल्लासपूर्वक सम्पन्न हुँदैछ ।
मैथिल समाजमा दशहारा (बडादसैं) पर्वको षष्ठी तिथिमा गरिने यो विशेष अनुष्ठान देवी प्रतिमाको आँखा खोल्ने (उघार्ने) तयारीको मुख्य भाग मानिन्छ ।
यस वर्ष चतुर्थी तिथि दुई दिन पर्दा नवरात्र १० दिनको भएको छ । सोही कारण परम्पराअनुसार षष्ठीमा हुने ‘बेलनौत’ विधि यसपटक सप्तमी अघिल्लो दिन अर्थात् सातौँ दिनमा परेको हो ।
मैथिल परम्परा अनुसार दशहारा पर्वमा माटो मुछेर तयार गरिएका देवी दुर्गाका प्रतिमामा सप्तमीको बिहान आँखा कोट्याएर उघारिन्छ ।
तर त्यसको पूर्वतयारीका रूपमा षष्ठीका दिन प्रतिमास्थलबाट बाजागाजासहित गाउँ नजिकको बेलको रुखमा चढेर एउटा पवित्र बेल फललाई रातो रुमालले बाँधेर निमन्त्रणा गरिन्छ । यसलाई ‘बेलनौत’ अर्थात् बेल निम्ता भन्ने गरिन्छ ।
वैदिक मन्त्रोच्चारणसहित निम्ता गरिएको बेल फललाई सप्तमीका दिन बिहानै बाजागाजासहित टिपेर ल्याइन्छ । यही फलको भेट्नो प्रयोग गरी पुरोहितले देवीको प्रतिमाको आँखा खोस्री उघार्ने विधि ‘बेलतोडी’ भनिन्छ । मैथिल विश्वासअनुसार आँखा उघारिएपछि देवी प्रतिमा पूर्ण सजीव भएको मानिन्छ र सर्वसाधारणका लागि दर्शन खुला हुन्छ ।
दशहारा अवसरमा मिथिला क्षेत्रका अधिकांश गाउँबस्तीमा माटो मुछेर देवी प्रतिमा बनाउने चलन छ ।
जहाँ काठ वा धातुका स्थायी मूर्तिमा आँखा खोल्ने विधि नभए पनि निम्त्याइएको बेल फललाई देवी मन्दिरमा चढाउने परम्परा भने समान रूपमा पालना हुन्छ ।
बेलनौतको यो विधिले मिथिला क्षेत्रका गाउँबस्तीमा आज बिहानदेखि चहलपहल र धार्मिक उत्साह अत्यधिक बढाएको छ ।
पर्वको समापनमा विजयादशमीका दिन माटो मुछेर बनाइएका प्रतिमालाई धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन (मूर्ति भसाउने) गर्ने परम्परा रहनेछ ।