रौतहट । हिन्दुहरूको महान् पर्व बडा दसैँमा पनि रौतहटका हजारौँ सरकारी कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपाङ्ग, एकल महिला लगायतका लाभग्राहीले तलब र भत्ता पाएका छैनन्।
जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका (कुल १८ पालिका) मध्ये फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही–गोनाही नगरपालिकाले अझै बैंक खाता सञ्चालन गर्न नसकेका कारण शिक्षक, कर्मचारी र सामाजिक सुरक्षा लाभग्राहीले रकम पाउन सकेका छैनन्।
बाँकी १४ पालिकाले भने समयमै खाता सञ्चालन गरी वितरण प्रक्रिया सुरु गरिसकेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमका अनुसार असार १० भित्र नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि देवाही–गोनाही र बौधिमाई नगरपालिकामा अझै नगरसभा सम्पन्न हुन सकेको छैन।
नगरसभा सम्पन्न गरिसकेका फतुवा विजयपुर र गुजरा नगरपालिकाले पनि बन्दसत्र र अन्य प्रशासनिक प्रक्रिया ढिला गरेकाले खाता खोल्न समय लागेको हो।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले ढिलाइ भएको स्वीकार गर्दै भने, “नगरसभा र बन्दसत्र दुवै सम्पन्न भइसकेका छन्। योजनाको पोस्टिङ प्रक्रिया पूरा भएपछि २–४ दिनमै खाता सञ्चालन गर्ने तयारी छ।”
आन्तरिक कमजोरीकै कारण चार पालिकाका शिक्षक र कर्मचारीहरूले समयमै पारिश्रमिक नपाउँदा दसैँका लागि नयाँ कपडा, मिठा परिकार किन्ने र घर फर्कने योजना प्रभावित भएको छ।
विशेषगरी टाढा गाउँ र बाहिर जिल्लाबाट आएका कर्मचारीहरूले यात्रा खर्च अभावमा घर जान नसक्ने अवस्था भएको गुनासो गरेका छन्।
यस्तै सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपाङ्ग, एकल महिलाहरू पनि दसैँअघि राहतको रकम नपाउँदा पर्व फिका हुने चिन्तामा छन्।