वीरगन्ज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छिन्।
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनमा अन्तरिम सरकार गठनको औचित्य, सरकारका प्राथमिकता, शान्ति सुरक्षाको अवस्था र फागुन २१ गते घोषणा गरिएको निर्वाचनको तयारीबारे विशेष जानकारी दिन सक्ने अनुमान गरिएको छ।
देशवासीका नाममा सम्बोधन गर्नुअघि प्रधानमन्त्री कार्कीले आजै दिउँसो ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकी छन्। प्रधानमन्त्री कार्यालयमा बस्ने यस बैठकले सम्बोधनका मुख्य एजेन्डाहरूलाई अन्तिम रूप दिने र निर्वाचन लक्षित केही महत्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयहरू गर्ने सम्भावना छ।
जेनजी आन्दोलनपछि राजनीतिक स्थिरता कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। आजको सम्बोधनबाट प्रधानमन्त्रीले जनतालाई निर्वाचनको सुनिश्चितता र सरकारको भावी कार्यदिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।