वीरगन्ज । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। युवा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
आक्रोशित प्रदर्शनकारीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा समेत आगजनी गरेका छन्।
घटना बुधबार लेह लद्दाखमा भएको हो, जहाँ प्रदर्शनकारीले सडकमा उत्रिएर तोडफोड र आगजनी गरेका थिए। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्नुपरेको थियो।
सन् २०१९ मा भारत सरकारले जम्मू कश्मीरलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि लद्दाखलाई अलग्गै केन्द्रशासित प्रदेश बनाइएको थियो। तर, लद्दाखलाई आफ्नो विधानसभा नदिई दिल्लीबाटै शासन गर्न थालेपछि स्थानीय बासिन्दामा असन्तुष्टि बढेको हो। उनीहरूले आफ्नो राजनीतिक प्रतिनिधित्व र अधिकार खोसिएको महसुस गरेका छन्।
अहिले लद्दाखका बासिन्दाले पूर्ण राज्यको मान्यता र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राखेका छन्। छैटौँ अनुसूचीमा समावेश भएमा आदिवासी र स्थानीय समुदायलाई भूमि, रोजगारी, भाषा र संस्कृतिमा विशेष अधिकार प्राप्त हुनेछ। यसबाट बाह्य जनसंख्या र पूँजीको प्रवेशले आफ्नो भूमि र संस्कृतिमाथि खतरा आउने उनीहरूको डर छ। यसअघि पनि पटक–पटक आन्दोलन भए पनि केन्द्र सरकारले उनीहरूको मागमा ध्यान दिएको छैन।
यस घटनापछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारलाई जम्मू कश्मीरका जनताको असन्तोषको कारणबारे इमानदारीपूर्वक अध्ययन गर्न आग्रह गरेकी छन्।