वीरगन्ज । नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदसम्बन्धी बहुचर्चित ठेक्काको प्रक्रिया स्थगन गरेको छ।
यस ठेक्कामा सेटिङ गरेर ठूलो अनियमितता गर्न खोजिएको आरोप लागिरहेका बेला टेलिकमले ‘जेनजी आन्दोलन’लाई कारण देखाउँदै ठेक्काको मूल्य खोल्ने काम अनिश्चितकालका लागि स्थगित गरेको हो।
यसअघि टेलिकमले बोलपत्रमा सहभागी दुईमध्ये चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिजलाई मात्र प्राविधिक रूपमा योग्य ठहर गर्दै भदौ ३० गते मूल्य प्रस्ताव खोल्ने निर्णय गरेको थियो। तर, विभिन्न सञ्चारमाध्यममा यस ठेक्कामा चलखेल भइरहेको खबर आएपछि टेलिकमले अहिलेको विषम परिस्थितिलाई कारण देखाउँदै मूल्य खोल्ने मिति सारेको हो। यद्यपि, ठेक्का रद्द भने गरिएको छैन।
सन् २०१८–२०१९ तिर नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकालमा यो ‘कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टम’ खरिदका लागि स्पेसिफिकेसनको तयारी गरिएको थियो। जानकारहरूका अनुसार, यस प्रक्रियामा लामो समयदेखि सेटिङको खेल हुँदै आएको छ।
टेलिकमको यस निर्णयले तत्कालका लागि ठेक्कामाथि उठेका प्रश्नहरूको सम्बोधन गर्न खोजे पनि पूर्ण प्रक्रिया भने रोकिएको छैन। यसले भविष्यमा पनि यस ठेक्का विवादको विषय बन्ने सम्भावना देखाएको छ।