जनकपुरधाम । मधेश प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ।
सत्तारूढ गठबन्धनको एक प्रमुख घटक नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसँगै मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ र संकटमा फसेको छ।
आज बिहान जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय दलका नेता कृष्णा यादवले जनमत पार्टी सरकारबाट बाहिरिएपछि आफूहरू पनि सरकारमा बसिरहनु उचित नभएको निष्कर्षमा पुगेको बताए। उनले भने, ‘हामीले आजै औपचारिक रूपमा प्रदेश प्रमुखलाई पत्र पठाएर समर्थन फिर्ता लिँदैछौँ र हाम्रा मन्त्रीहरूलाई पनि फिर्ता बोलाउँदैछौँ ।’
करिब १६ महिनाअघि मुख्यमन्त्री सतिश सिंहले कांग्रेस, जनमत पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चार दलीय गठबन्धनको साथमा सरकार बनाएका थिए। भदौ २८ गते जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। जनमतको बहिर्गमनपछि नै कांग्रेसले पनि सरकारमा आफ्नो भूमिकाबारे पुनर्विचार गर्न थालेको थियो। जनमत पार्टीले समर्थन फिर्ता लिँदा सरकारलाई दिएको समर्थन कायम राख्नु उपयुक्त नहुने निष्कर्षमा कांग्रेस पुगेको देखिन्छ।
कांग्रेसको यो निर्णयपछि अब मुख्यमन्त्री सिंहको सरकारमा एमाले र लोसपा मात्रै बाँकी छन्। जनमत र कांग्रेसले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। यसले मुख्यमन्त्रीलाई अब विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ, जसले गर्दा प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ। यस घटनाले मधेश प्रदेशको राजनीतिक समीकरणमा ठूलो फेरबदल ल्याएको छ।