रौतहट । रौतहटको वृन्दावन नगरपालिकास्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश शोभा यात्रामा सहभागी एक किशोर डुबेर बेपत्ता भएका छन्।
सोमबार बिहानदेखि हराइरहेका उनको खोजी जारी छ ।
वृन्दावन–३ विश्रामपुरका १३ वर्षीय रोशन यादव दुर्गा पूजाको कलश यात्रामा सहभागी हुन हनुमान चौक पुगेका थिए।
नदीमा नुहाउने क्रममा खोलाको गहिरो खाडलमा परेर बेपत्ता भएको प्रहरीको अनुमान छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा र समनपुरका प्रहरी टोली, विश्रामपुर र धरमपुरका प्रहरी चौकी, साथै सशस्त्र प्रहरी बल समनपुर क्याम्पका सुरक्षाकर्मी तथा स्थानीयबासीको सहभागितामा खोजी कार्य सुरु गरिएको छ।
तर, २४ घण्टा बित्दा पनि रोशनको अवस्थाबारे कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले बताए।
प्रहरीका अनुसार रमौली घाटदेखि धरमपुर घाटसम्म खोजी गर्दा पनि कुनै सुराक नलागेपछि सोमबार बेलुकी अँध्यारो भएपछि खोजी स्थगित गरिएको थियो।
मंगलबार बिहानैदेखि पुनः व्यापक खोजी अभियान सुरु गरिएको डिएसपी आचार्यले जानकारी दिए।
दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा नदी वा खोलाबाट जल ल्याउने परम्परा रहिआएको छ।
यही क्रममा बागमती नदीमा स्नानका लागि पुगेका रोशन बेपत्ता भएका हुन्।