सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय अभिषेक कुमार सिंह मृत भेटिएका छन्।
तीन दिनदेखि बेपत्ता रहेका अभिषेकको शव मंगलबार बिहान अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको हुनसक्छ भन्दै सामान्य खोजतलासमा सीमित रह्यो।
तर, अर्को दिनसम्म पनि घर नफर्किएपछि परिवारले सक्रिय खोज थालेको थियो।
खोजतलासको क्रममा अभिषेकको मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण सन्देश आएको पाइएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए।
हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन माग गर्दै प्रहरी वा पत्रकारलाई जानकारी गराए ज्यानको जोखिम हुने चेतावनी दिइएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष महतोसहित स्थानीयले खोजतलास थाले पनि मंगलबार बिहान घरनजिकैको विद्यालय छेउमा बालकको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी आनन्द राम शर्माका अनुसार घटनास्थलमा कुकुरसहितको प्रहरी टोली खटाइएको छ।
शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी भइरहेको छ। उनले हत्या र फिरौतीको घटनाबारे थप अनुसन्धान भइरहेको बताए।