ट्रेन्डिङ

बडादशैँको रौनक : घटस्थापनासँगै नवदुर्गाको पूजा सुरु

वीरगन्ज । नेपालीहरूको महान् चाड बडादशैँ आजबाट औपचारिक रूपमा सुरु भएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिन आज, असोज ६ गते, देशभरका घरघरमा विधिपूर्वक घटस्थापना गरी दशैँ पर्वको शुभारम्भ गरिएको हो। यो दिन जमरा राखेर नौ दिनसम्म अर्थात् नवरात्रभरि दुर्गा भवानीको पूजा आराधना गरिन्छ।

घटस्थापनाको दिन बिहानै पवित्र स्थलको माटो वा बालुवा ल्याएर विधिपूर्वक जमरा छरिन्छ। माटोको शुद्ध घडा अर्थात् कलश स्थापना गरी त्यसमा वैदिक मन्त्रहरूले शक्तिस्वरूपा नवदुर्गा देवीको आह्वान गरिन्छ। यो कलशलाई दशैँभरि जलले सिञ्चित गरिन्छ।

घटस्थापनाको शुभ साइतमा स्थापना गरिएको कलशको जलले विजयादशमीका दिन दुर्गा देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। यसरी दशैँभरि शक्तिपीठहरूमा दुर्गा भवानीको पूजाआजा र स्तुति गरिन्छ।

बडादशैँको सुरुआतसँगै मठमन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौँको प्रसिद्ध भद्रकाली मन्दिर, गुह्येश्वरी, दक्षिणकाली लगायतका शक्तिपीठहरूमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको लामो लाइन देखिन्छ।

विशेषगरी भद्रकाली मन्दिरमा आज गाडी पूजा गर्ने भक्तजनको उल्लेख्य भीड लागेको छ। श्रद्धालुहरू आफ्नो सवारी साधनमा फूलमाला चढाएर पूजापाठ गर्दै वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।

दशैँको नौ दिनमा दुर्गा भवानीका विभिन्न नौ स्वरूपहरूको पूजा आराधना गर्ने चलन छ। यी नौ देवीहरूलाई क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको नामले पुजिन्छ। प्रत्येक दिन फरक फरक देवीको पूजा गर्दा शक्तिको प्रतीकका रूपमा लिइन्छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै