ट्रेन्डिङ

जनमत पार्टीबाट बाहिरिएका नेताहरुले सुरु गरे ‘युथ फर नेशन’ अभियान

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको राजीनामा माग गर्दै पार्टी छोडेका ६ जना नेताहरूले अब ‘युथ फर नेशन’ नामक अभियान सुरु गर्ने भएका छन्।

पार्टी अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले असोज २ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए।

पार्टी छोड्ने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।

अभियानको उद्देश्यबारे जानकारी दिँदै डा. शरदसिंह यादवले जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै युवाहरूलाई जोड्ने बताए। उनले भने, ‘हामी अब युवाहरूको कुरा सुन्न देशभर जान्छौं।’ उनले तत्कालै नयाँ राजनीतिक दल खोल्ने योजना नरहेको तर युवा केन्द्रित बहस चलाइने जानकारी दिए।

नेताहरूले राउत र उनका दाजु जयकान्तको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूको राजीनामा माग गरेका थिए। ‘हामी दल खोल्ने गरी अलग भएका होइनौं, हामी प्रवृत्तिका विरुद्धमा रहेर पार्टी छोडेका हौं,’ डा. यादवले थपे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै