वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
आइतबार आयोजित पदाधिकारी बैठकमा उनले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका हुन्।
प्रचण्डले करिब एक घण्टा लामो सम्बोधनका क्रममा ‘विशेष परिस्थिति’लाई मध्यनजर गर्दै यो कदम आवश्यक भएको बताए। उनले अहिलेको राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे पनि विस्तृत चर्चा गरेका थिए।
पदाधिकारी बैठकले प्रचण्डको यो प्रस्तावलाई केन्द्रीय समिति मा पठाउने तयारी गरेको छ। यदि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा पार्टीका सबै तहका पदाधिकारी र समितिहरू भंग गरी महाधिवेशन आयोजक समिति गठन गरिनेछ। यस समितिले मात्रै मंसिरमा हुने महाधिवेशनको सम्पूर्ण जिम्मेवारी र अधिकार पाउनेछ।
प्रचण्डले एक हप्ताभित्रै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्। उनको यो कदमलाई माओवादीभित्रको आन्तरिक सुधार र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न चालेको रणनीतिक कदमको रूपमा हेरिएको छ।