वीरगन्ज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौताबापतको करिब २५ अर्ब रुपैयाँ उठाउन विशेष पहल गर्ने भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यससम्बन्धी निर्णयका लागि सोमबार वा मंगलबार नै बोर्ड बैठक बस्ने तयारी भएको बताएका छन्।
भर्खरै ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले विद्युत् बक्यौता उठाउने पहिलो निर्णय गरेलगत्तै प्राधिकरणले यसलाई कार्यान्वयनमा लैजान लागेको हो।
कार्यकारी निर्देशक शाक्यले ऊर्जा मन्त्री नै प्राधिकरणको बोर्ड अध्यक्ष हुने हुँदा बोर्डको निर्णयपछि बक्यौता उठाउन कुनै समस्या नहुने स्पष्ट पारेका छन्। ‘बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ, यसलाई हामीले कार्यान्वयन गर्छौं,’ उनले भने, ‘भोलि अथवा पर्सिमै बोर्ड बैठक बस्छ।’
यसअघि पनि कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने प्रयास गरेका थिए। तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीको दबाबपछि लाइन पुनः जोड्न निर्देशन दिइएको थियो।
लोडसेडिङको समयमा उद्योगहरूलाई २४ घण्टा नै बिजुली उपलब्ध गराइएको थियो, तर कतिपय उद्योगीहरूले प्रयोग नै नगरेको बिजुलीको समेत बिल आएको भन्दै महसुल तिर्न मानेका छैनन्। यही विवादका कारण २५ अर्ब रुपैयाँको बक्यौता लामो समयदेखि उठेको छैन।
प्राधिकरणले अबको बोर्ड बैठकबाट बक्यौता उठाउने विषयमा ठोस निर्णय लिई यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ।