जलेश्वर । बडादशैंको बिदामा पनि महोत्तरी जिल्ला अदालतको सेवा पूर्णरूपमा बन्द नहुने भएको छ।
अदालतले एक सूचना जारी गर्दै दशैं बिदाको अवधिमा पनि केही अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने जनाएको छ।
असोज ६ देखि २० गतेसम्म अदालत बन्द रहने भए पनि शनिबार, घटस्थापना र विजया दशमीको दिनबाहेक अन्य दिनहरूमा अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। यस अवधिमा बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा सुनुवाइ, जरुरी पक्राउ पुर्जी स्वीकृत, र पक्राउ पुर्जीको अनुमति जस्ता कामहरू हुनेछन्।
अदालतका स्रेस्तेदार भरतमणि पोखरेल द्वारा जारी सूचनामा उल्लेख भएअनुसार, दिउँसो १ बजेभित्र दर्ता भएका बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनुवाइ सोही दिन हुनेछ भने त्यसपछि दर्ता भएका निवेदनको सुनुवाइ अर्को दिन हुनेछ।
