वीरगन्ज । बाराको जीतपुरसिमरा क्षेत्रमा तीन महिनाभित्र तीन जनाको ज्यान लिने नरभक्षी बाघलाई शुक्रबार नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन र जेडएसएलको विज्ञ टोलीले पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलमा उक्त बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो।
पछिल्लो समय मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो। स्थानीय जनप्रतिनिधि, प्रहरी र विज्ञ टोलीको संयुक्त प्रयासमा बाघलाई नियन्त्रणमा लिन सम्भव भएको हो।
पथलैया–अमलेखगञ्ज सडकखण्ड नजिकको जंगलमा बाघ देखिएको सूचना पाएपछि टोली हात्तीको सहायतामा घटनास्थल पुगेको थियो। टोलीले बाघलाई डार्ट गरेर बेहोस बनायो र निकुञ्ज कार्यालयको खोरमा राखेको जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।
यस नरभक्षी बाघको आक्रमणबाट असारमा जीतपुरसिमरा–१ का छेवाङ्ग लामा र भदौमा वडा नं– २२ का कृष्णप्रसाद शर्मा र वडा नं २१ का चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो।
बाघ नियन्त्रणमा आएपछि स्थानीयले ठूलो राहतको सास फेरेका छन्। यद्यपि, निकुञ्ज प्रशासनले थप सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।