ट्रेन्डिङ

जेनजी आन्दोलनको प्रभाव : मधेश केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस चर्कियो

वीरगन्ज । जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा नेतृत्व परिवर्तनको बहसलाई नयाँ जीवन दिएको छ।

युवा पुस्ताले पुराना अनुहारलाई अस्वीकार गरेपछि सत्ता र प्रतिपक्ष दुवैतर्फका दलहरूमा नेतृत्व हस्तान्तरणको विषयले गम्भीरता पाएको छ। यो प्रभावबाट तराई–मधेश केन्द्रित दलहरू पनि अछुतो रहेनन्, जहाँ वर्षौंदेखि एउटै नेतृत्व कायम रहँदै आएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विगत १८ वर्षदेखि पार्टीको नेतृत्वमा छन्। २०५४ सालमा सामाजिक संस्थाका रूपमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएदेखि हालसम्म उनी पार्टी अध्यक्षका रूपमा निरन्तर छन्। मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी पार्टी हुँदै जसपा नेपालसम्म आइपुग्दा पनि नेतृत्वमा उनै छन्। पार्टीभित्र पटकपटक नेतृत्व परिवर्तनको कुरा उठे पनि उनी नै अध्यक्ष पदमा कायम रहँदै आएका छन्।

यस्तै अवस्था लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा पनि देखिएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि १८ वर्षदेखि पार्टीको नेतृत्वमा छन्। २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेदेखि उनी यसको नेतृत्वमा छन्। ८३ वर्षीय ठाकुरले १८ वर्षको अवधिमा एकपटक मात्र महाधिवेशन गराएका थिए। पार्टीमा नेतृत्व परिवर्तनको आवाज बारम्बार उठिरहे पनि उनी अध्यक्ष पदमा निरन्तर छन्। आगामी चैत ६ र ७ गतेका लागि अर्को महाधिवेशन तोकिएको छ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि लामो समयदेखि पार्टी नेतृत्वमा छन्। सद्भावना पार्टीबाट अलग भएपछि उनले आफ्नै नेतृत्वमा पार्टी चलाउँदै आएका छन्। लोसपाको नेतृत्वमा आउन खोजेका महतोले महन्थ ठाकुरले नछाडेपछि विद्रोह गरी राष्ट्रिय मुक्ति पार्टी गठन गरेका थिए। ६७ वर्षीय महतोले आफ्नो नेतृत्व निरन्तर रहने बताउँदै आएका छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै