वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
नव नियुक्त मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ रहेका छन्। प्रधानमन्त्री कार्कीले आइतबार उनीहरूलाई नियुक्त गरेकी थिइन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र प्रधानन्यायाधीश प्रकाशमान सिंह रावललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
ओमप्रकाश अर्यालले गृह मन्त्रालयको अतिरिक्त कानुन मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्। कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको साथै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। शपथपछि तीनै जना मन्त्रीले आजै आ–आफ्नो पदभार सम्हाल्ने बताइएको छ।