वीरगन्ज । जिल्लाको शान्ति सुरक्षा कायम गर्न पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्जका केही तोकिएका क्षेत्रमा कर्फ्यू र निषेधाज्ञाको आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज जारी गरेको सूचनाअनुसार, केही स्थानलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, वीरगन्ज महानगरपालिकाको देहायका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि दैनिक राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ। त्यसैगरी, आजमात्र बिहान ११ बजेदेखि राति ९ बजेसम्म पाँच जनाभन्दा बढी मानिस भेला हुन, जुलुस, प्रदर्शन वा सभा गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।
पूर्वतिर बाईपास रोडसम्म, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु लागु हुनेछ ।
कर्फ्यूको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवतजावतमा छुट दिइने प्रशासनले जनाएको छ।

यसैगरी, शान्ति सुव्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिले ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम देहायका दुई स्थानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र त्यसको कम्पाउन्डभित्रको क्षेत्रमा प्रशासनले यी आदेशहरूको उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ।
