ट्रेन्डिङ

प्रधानमन्त्री कार्कीले गरिन पदभार ग्रहण, मृतकलाई सहिद घोषणा, परिवारलाई १० लाख

वीरगन्ज । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्।

पदभार ग्रहण गर्नुअघि उनले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरेकी थिइन्।

उनको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेनजी’ आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्। यो आन्दोलन भदौ २३ गते सुरु भएको थियो।

मुख्य सचिव अर्यालका अनुसार मृतक ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यसैगरी, आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

आन्दोलनका क्रममा भएको झडप र आगजनीका कारण ज्यान गुमाएका सबैको सनाखत हुन सकेको छैन। जलेका स्थानहरूमा अझै पनि शव भेटिने क्रम जारी छ। आज बिहान मात्रै चाबहिलको भाटभटेनीमा ६ जनाको शव फेला परेको छ।

पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै