वीरगन्ज । जेनजीको नेतृत्वमा भदौ २४ गते भएको राष्ट्रव्यापी आन्दोलन र त्यसको परिणामस्वरूप कारागारबाट ठूलो संख्यामा अपराधीहरू फरार भएपछि आम नागरिकमा त्रास बढेको छ।
आन्दोलन र कारागार सुरक्षाकर्मीको कमजोर उपस्थितिको फाइदा उठाउँदै कैदी तथा बाल सुधारगृहबाट बालबिजुवाहरू फरार भएका छन्। यस क्रममा भएको झडपमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
भदौ २४ गते सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट रवि लामिछाने बाहिरिएपछि सोही कारागारबाट १,२५६ जना कैदी फरार भएका थिए। यस घटनाले देशभरका जेलहरूमा कैदीहरू आन्दोलित भएका थिए। आन्दोलनका कारण प्रहरी बाहिरी सुरक्षामा खटिएको र केही जेलमा तोडफोड भएपछि भित्री सुरक्षा कमजोर भएको थियो।
नेपालमा रहेका ७७ जिल्लामध्ये हाल ७२ जिल्लामा ७५ वटा कारागार कार्यालयहरू छन्। यद्यपि, धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी, र पूर्वी रुकुममा कारागार छैन। कारागार व्यवस्थापन गृहभन्दा सुधार गृहको रूपमा हुनुपर्ने सरकारी नीति भए पनि देशका अधिकांश कारागारमा क्षमताभन्दा दोब्बर कैदी राखिएको छ। यसले गर्दा कैदीहरू आधारभूत मानव अधिकारबाट वञ्चित छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकअनुसार, देशभरका कारागार र बाल सुधारगृहबाट भागेका कैदी तथा बालबिजुवाहरूको संख्या १३११४ पुगेको छ। यसमध्ये १,२९८ जना नियन्त्रणमा आएका छन् भने ११,८६८ जना अझै सम्पर्कविहीन छन्।
