वीरगन्ज । जेनजी आन्दोलनको आडमा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत पर्ने १८३ वटा सालका रूख अवैध रूपमा कटान गरिएको छ।
उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार आन्दोलनको दिन युवाहरूको एक समूहले समितिको कार्यालयमा आगजनी गर्ने प्रयास गरेको थियो। आगजनी प्रयास असफल भएपछि उनीहरूले दिउँसै १८ वटा सालका रूख काटेका थिए। त्यसको भोलिपल्ट बुधबार थप १६५ वटा रूख काटिएको अध्यक्ष झाको भनाइ छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। तर, स्थानीय गाउँलेहरू सयौँको संख्यामा भेला भएर प्रहरीलाई घेराउ गरेपछि उनीहरूलाई छोड्न बाध्य भएको थियो। यस घटनाको अनुसन्धान भइरहेको र दोषीहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ।