ट्रेन्डिङ

संविधानको दायराभित्रै आन्दोलनका माग सम्बोधन गर्न मुस्लिम संघको आग्रह

वीरगन्ज । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

महासचिव प्रवेज आलम अन्सारीद्वारा जारी गरिएको एक विज्ञप्तिमा, संघले आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विज्ञप्तिमा, संघले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई जायज माने पनि सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्तै दुःखद र निन्दनीय’ कार्यको रूपमा भर्त्सना गरेको छ। यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत अन्य व्यक्तिहरूमाथि भएको भौतिक आक्रमणलाई पनि संघले निन्दनीय भनेको छ।

मुस्लिम संघले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अगाडि बढाउन सबै पक्षलाई एकजुट हुन आग्रह गरेको छ। संघले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले चालेको पहललाई स्वागत गरेको छ। विज्ञप्तिमा जेनजी का मागहरूलाई नेपालको संविधान २०७२ को दायराभित्रै सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। संघले २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनै पनि प्रयास नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै