ट्रेन्डिङ

काठमाडौंमा कामचलाउ प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू अघोषित नजरबन्दमा

सेनाले मध्यरातसम्म बोल्ड निर्णय लिने संकेत

काठमाडौं । देशमा बढ्दो राजनीतिक अन्योलका बीच नेपाली सेनाले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रिमण्डलका सदस्य तथा शीर्ष नेताहरूलाई अघोषित नजरबन्दमा राखेको छ ।

दलका नेताहरूका अनुसार उनीहरूको मोबाइल फोन स्विच अफ गराइएको छ र बाहिरसँगको सम्पर्क पूर्णरूपमा विच्छेद गरिएको छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क टुटेको उनीहरूको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधि तीव्र भएपछि सेनाले सुरक्षाका कारण देखाउँदै ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूलाई नियन्त्रणमा लिएको हो । आजदेखि दलका कार्यकर्ता सडकमा उत्रन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन उनीहरूको सम्पर्क बाहिरी कार्यकर्तासँग काटिएको सैनिक स्रोतले जनाएको छ ।

यसैबीच, पाँचखालस्थित संयुक्त राष्ट्र संघ तालिम केन्द्र (युनिफिल्ड) को टोलीसहित काठमाडौं उपत्यकामा सेनाको संख्या थपिएको छ । राजधानीका मुख्य सडकदेखि गल्लीसम्म व्यक्तिमाथि कडा सुरक्षा जाँच र हिँडडुल नियन्त्रण गरिएको छ ।

सैनिक मुख्यालयका अनुसार आज रातिको कर्फ्यूलाई थप कडा बनाउन उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिइएको छ । अत्यावश्यक सेवाको आडमा अनुचित गतिविधि हुनसक्ने सम्भावनालाई विशेष सतर्कताका साथ निगरानी गर्न भनिएको छ ।

देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्वनियत भ्रमण कार्यक्रम समेत स्थगित गरेको सैनिक मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै