ट्रेन्डिङ

वीरगन्जमा कांग्रेस निकट युवाहरूको प्रदर्शन : संविधान र लोकतन्त्रको रक्षाको माग

वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अनिश्चितताका बीच वीरगन्जमा नेपाली कांग्रेस निकट युवाहरूले संविधानको रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा सरकारविहीन अवस्था रहेको र यसको फाइदा उठाएर अस्थिरता फैलाउने चलखेल भएको भन्दै उनीहरूले खबरदारी गरेका हुन्।

प्रदर्शनकारी युवाहरूले ‘संविधानको रक्षा गरौँ’, ‘संसद विघटन गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

युवाहरूले अहिलेको संकटबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल सम्बोधन गरी नेतृत्वदायी भूमिका खेल्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न विभिन्न जेनजी समुहसँग छलफल र बहस भए पनि विभिन्न शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूका अनुसार, अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै संविधान र लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु हो। उनीहरूले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्दै संवैधानिक प्रक्रियाबाट नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै