वीरगन्ज । नेपाल पत्रकार महासंघले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै संक्रमणकालको अन्त्यका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास दिनुपर्नेमा जोड दिएको छ।
महासंघले जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमनको निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिमाथि पनि दुःख व्यक्त गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै आन्दोलनमा २३ जनाले ज्यान गुमाएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, घाइते भएका बालबालिका, सुरक्षाकर्मी र विशेषगरी गोली लागेर घाइते भएका चार जना पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। आन्दोलनका क्रममा मिडिया हाउसहरूमा आक्रमण भएको र जलाइएकोमा महासंघले आपत्ति जनाउँदै राज्यले पीडित पत्रकार र मिडियालाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
महासंघको ठहर छ कि देशमा फैलिएको भ्रष्टाचार र बेथितिविरुद्ध उठेको युवाहरूको आवाजलाई सम्मान गर्दै वर्तमान संविधानले निर्धारण गरेको प्रक्रियाबाट नै समाधान खोज्नुपर्छ। राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्ने र यसमा जंगी अड्डाको भूमिका हुनु हुँदैन भन्नेमा महासंघ स्पष्ट छ।
महासंघले राज्य र आन्दोलनकारी दुवै पक्षलाई प्रेसमाथि निशाना नबनाउन आग्रह गरेको छ। पत्रकार र मिडियालाई जनतालाई सुसूचित गर्ने आफ्नो कर्तव्य निर्वाह गर्न दिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन महासंघले अपिल गरेको छ।
महासंघले राष्ट्रपतिलाई वार्ताका लागि सहजीकरण गर्न आग्रह गर्दै यसका लागि पत्रकार महासंघसहित ६ वटा पेसागत सञ्जालहरू तयार रहेको जानकारी गराएको छ।
अन्तमा, महासंघले सबै सरोकारवाला पक्षहरूलाई संयम र संवेदनशील भई इतिहासको यो कठिन मोडमा जिम्मेवार बन्न हार्दिक अपिल गरेको छ।

