वीरगन्ज । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारको अव्यवस्थाविरुद्ध भइरहेको जेनजी (युवा पुस्ता) आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणका आधारमा यो जानकारी दिएको हो।
प्रदर्शनमा घाइते भएका १,३६८ जनामध्ये ३२१ जना अझै पनि अस्पतालमा उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो जानकारी दिएका हुन्।
काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेस्ट अस्पतालमा ३ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बीएनसी अस्पतालमा एक(एक जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो, जसले गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका थिए। कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। यस घटनाले देशभर आक्रोश र चिन्ताको लहर फैलिएको छ।