वीरगन्ज । राजनीतिक संकट गहिरिँदै जाँदा बृहत् नागरिक आन्दोलनले जेनजी आन्दोलनको सफलताका लागि २०७२ सालको संविधानलाई नै मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छ।
आन्दोलनले एक विज्ञप्ति जारी गर्दै ‘प्रतिक्रान्ति’लाई परास्त गर्ने सबैभन्दा बलियो हतियार यही संविधान भएको बताएको छ।
आन्दोलनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आफ्नो कित्ता स्पष्ट पार्न चुनौती दिएको छ। यदि उनी संविधानबाहिर हुने गतिविधिमा संलग्न भएको पाइएमा उनलाई पनि ‘प्रतिक्रान्तिका नायक’को रूपमा चिन्ने चेतावनी आन्दोलनले दिएको छ।
विज्ञप्तिमा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ। ‘जेनजी आन्दोलनमा घुसपैठ गर्ने र नागरिकलाई भौतिक, आर्थिक र मनोवैज्ञानिक रूपमा क्षति पुर्याउने तत्वहरू सैनिक मुख्यालयमा सेनाको आतिथ्यमा वार्ता गरिरहेको भन्दै आन्दोलनले यसलाई ‘असाध्यै डरलाग्दो र अस्वीकार्य’ भनेको छ। आन्दोलनले सेनाको यस्तो भूमिकालाई ‘अति खेदपूर्ण’ भन्दै अविलम्ब सच्याउन माग गरेको छ।
बृहत् नागरिक आन्दोलनको ठहर छ कि ‘जेनजी क्रान्तिको’ सफलताको बाटो राष्ट्रपतिको अभिभावकत्वमा मात्र पहिल्याउन सकिन्छ। उनीहरूले अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विचलित नभई भ्रष्टाचार र बेथिति विरुद्ध निरन्तर अघि बढ्नुपर्ने बताएका छन्।
आन्दोलनले नेपाली सेनाको नेतृत्वलाई आफ्नो संवैधानिक दायित्वलाई मनन गरी प्रतिक्रान्तिकारीहरूसँगको सबै अन्तरक्रिया बन्द गर्न र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल तथा कार्यक्रमहरू गर्न पनि आह्वान गरेको छ।