लहान । समोसामा कीरा फेला परेपछि लहानको एक होटललाई जरिवाना तिराइएको छ । समोसामा कीरा फेला परेपछि लहानको माखन भोग होटललाई २० हजार रुपैँया जरिवाना तिराइएको हो ।
ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले कारवाही स्वरुप जरिवाना गराएको हो ।
लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार बजार अनुगमन गरिएको थियो । सोही उक्त होटलका समोसामा कीरा फेला परेपछि जरिवाना तिराइएको हो ।
उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छ भने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छ भने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।