वीरगन्ज । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका वा हराएका हातहतियार र अन्य सामग्रीहरू फिर्ता गर्न नेपाली सेनाले आग्रह गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले त्यस्ता सामग्रीहरू नजिकको सुरक्षा निकायमा बुझाउन सबैलाई अनुरोध गरेको छ।
सेनाले लुटिएका हातहतियार र गोलीबारुदको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भन्दै यस्तो संवेदनशील समयमा सावधानी अपनाउन आग्रह गरेको छ। प्राप्त गर्ने व्यक्तिले ती सामग्रीहरू तत्काल सेना वा सम्बन्धित सुरक्षा निकायलाई बुझाएमा भविष्यमा हुन सक्ने खतराबाट बच्न सकिने सेनाको भनाइ छ।
यसका साथै, सेनाले सुरक्षाकर्मीको पोशाक (युनिफर्म)को अनाधिकृत प्रयोग नगर्न पनि चेतावनी दिएको छ।
विज्ञप्तिमा, तोकिएको समयभित्र हातहतियार र गोलीबारुद नबुझाउने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट चेतावनी दिइएको छ ।