वीरगन्ज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशभर जारी जेनजी आन्दोलनका प्रदर्शनकारीहरूलाई संयमित हुन आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यो अपिल गरेका हुन्।
‘हामीले स्पष्ट रूपमा भनेका थियौं। यो नितान्त जेनजी को आन्दोलन हो,’ मेयर शाहले लेखेका छन्, ‘प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला ।’
आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ।’
मेयर शाहले जेनजी पुस्तालाई नै अब देशको नेतृत्व गर्नुपर्ने अवस्था आएको भन्दै त्यसका लागि तयार रहन पनि आह्वान गरेका छन्। साथै, उनले नेपाली सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहन सुझाव दिएका छन्। तर, त्यसका लागि संसद् विघटन भएको हुनुपर्ने उनको भनाइ छ।
