वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ।
हिजो बेलुका ९ बजेदेखि आज बिहान ९ बजेसम्म लागू गरिएको कर्फ्युलाई आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको आदेशअनुसार, यो कर्फ्यु स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको हो। कर्फ्युको समयमा तोकिएका क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन। सर्वसाधारणको आवतजावतमा पनि रोक लगाइएको छ।

कर्फ्यु लागू हुने क्षेत्र :
पूर्व : बाईपास रोड
पश्चिम : सिर्सिया पुल
उत्तर : गण्डक चोक
दक्षिण : शंकराचार्य गेट
जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गरेको सूचनामा अत्यावश्यक सेवाका सवारी साधनहरूलाई भने छुट दिइएको छ। यसअनुसार, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई सुरक्षाकर्मीले सहजै आवतजावत गर्न दिनेछन्। यस्तै, हवाई टिकटको आधारमा हवाई यात्रुहरूलाई पनि आवतजावतको सुविधा दिइएको छ।

