काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट गरेको दबाबका आधारमा प्रधानमन्त्री ओलीले पद त्याग्ने अवस्था नरहेको बताए।
मन्त्री गुरुङले भने, “अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन। प्रतिपक्षी दलहरूले सडकमा बसेर मागेर मात्र प्रधानमन्त्रीले राजीनामा दिने कुरा सम्भव छैन।”
उनले पछिल्लो समय युवाहरूले उठाएको आवाजलाई ध्यानमा राख्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको जानकारी पनि दिए।