वीरगन्ज । जेनजी युवाहरूको काठमाडौंमा सुरु भएको प्रदर्शन अहिले देशव्यापी भएको छ। यसै क्रममा पर्साको वीरगन्जमा पनि आन्दोलन चर्किएको छ। युवाहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
बढ्दो तनाव र झडपको सम्भावनालाई मध्यनजर गर्दै, जिल्ला प्रशासन कार्यालय पर्साले आज (सोमबार) राती ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
प्रदर्शनकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र कुशासनको विरोधमा नाराबाजी गरिरहेका छन्। उनीहरूले तत्काल सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।
यस परिस्थितिले वीरगन्जको जनजीवन प्रभावित भएको छ। पसल र बजारहरू बन्द छन् भने सडकमा मानिसहरूको चहलपहल कम भएको छ।