वीरगन्ज । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा हुने प्रदर्शनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन्।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत उक्त प्रदर्शनमा उमेर हदका कारण आफू सहभागी हुन नसके पनि प्रदर्शनकारीको कुरा बुझ्न जरुरी रहेको भन्दै आफ्नो समर्थन रहेको बताएका छन्।
मेयर बालेनले यस प्रदर्शनलाई ‘जेनजीको स्वस्फूर्त र्याली’ भन्दै यसमा कुनै पनि राजनीतिक दल, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘भोलिको र्याली स्पष्ट रूपमा जेनजीको हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु।’ उनले थप प्रश्न गर्दै भनेका छन्, ‘प्रिय जेनजी, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’
यता, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट छन् भन्ने आफ्नो अपेक्षा रहेको बताएका छन्। ललितपुरको गोदावरीमा भएको एमालेको दोस्रो विधान महाधिवेशन समापनको क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि कसैले विधि र कानुनको उल्लङ्घन गर्न नपाउने बताए।
प्रधानमन्त्री ओलीले आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षधर नभएको दाबी गर्दै सामाजिक सञ्जाल बन्द गराइएको सन्दर्भको बचाउ गरेका छन्। उनले भने, ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य राखेको छैन, केवल दर्ताका लागि आह्वान मात्र गरिएको हो।’ उनले जेनजीले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै नयाँ पुस्ता राष्ट्रिय हित र कानुनप्रति सचेत रहेको अपेक्षा व्यक्त गरे।
सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ सामाजिक सञ्जालमाथिको पहुँच रोक्न सेवा प्रदायकलाई निर्देशन दिएपछि चौतर्फी आलोचना भएको छ। सरकारको यो निर्णयको विरोधमा जेनजी पुस्ताले सडक आन्दोलनको घोषणा गरेका छन् ।