वीरगन्ज । जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले सरकारले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
मधेशसञ्चरसँग कुराकानी गर्दै उनले सरकारको आलोचना बढ्न थालेपछि त्यसलाई रोक्न यस्तो कदम चालिएको दाबी गरेका छन्।
प्रवक्ता यादवले सामाजिक सञ्जालमा रोक लगाउँदा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू र उनीहरूका परिवारबीचको सम्पर्क विच्छेद भएको उल्लेख गर्दै यसले जनजीवनमा प्रत्यक्ष असर पारेको बताए। ‘सरकारले आलोचना रोक्न खोज्दा लाखौँ नेपालीको दैनिक जीवन प्रभावित भएको छ,’ उनले भने।
डा. यादवका अनुसार सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा ल्याउनु उचित भए पनि यसमा अत्यधिक कडाई गर्नु भने गलत हो। उनले नियमन र नियन्त्रणलाई फरक रूपमा हेर्नुपर्नेमा जोड दिए।
‘हामी सामाजिक सञ्जालमा हुने गलत गतिविधि रोक्न नियमनको पक्षमा छौँ, तर सरकारले यसको दुरुपयोग गरी नागरिकको विचारमाथि नियन्त्रण गर्न खोजेको छ,’ यादवले थपे। उनले सरकारलाई एक समय निर्धारण गरेर क्रमिक तरिकाले नियन्त्रणका उपायहरू लागू गर्न सुझाव दिए।
सरकारले उठाएको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रताको हननको रूपमा हेर्दै विभिन्न राजनीतिक दल र नागरिक समाजले पनि यसको विरोध गरिरहेका छन्।