वीरगन्ज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमतको सहमति अझै नभएको बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि कार्यदल भने चाँडै बन्ने जानकारी दिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताका विषयमा सोधिएको प्रश्नमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए। पत्रकारले ‘संविधानले यसबारेमा केही बोलेको छैन’ भन्ने जिज्ञासा राख्दा देउवाले ‘मलाई यसबारे त्यति थाहा छैन’ भनेर जवाफ दिए।
सामाजिक सञ्जालको विषयमा उनले ‘बन्द गर्ने’ कुरा नभएको स्पष्ट पारे। ओलीले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भनेको र अदालतले पनि त्यस्तै आदेश दिएको भन्दै उनले आफूलाई यसबारेमा धेरै बुझ्ने फुर्सद नभएको बताए।
सरकारमा मन्त्री परिवर्तनको विषयमा सोधिएको प्रश्नमा देउवा आक्रोशित बने। उनले पत्रकारलाई ‘मन्त्री परिवर्तन हुने कुरा कसले भन्यो ?’ भन्दै प्रश्न गरे। उनले मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा कुनै छलफल नभएको र सञ्चारमाध्यममा आएका कुरामा आफूलाई जानकारी नभएको बताए।
पार्टी महाधिवेशनको मिति केन्द्रीय समितिले तोक्ने बताउँदै उनले कांग्रेसको उत्तराधिकारीबारे सोधिएको प्रश्नमा फेरि व्यङ्ग्यात्मक जवाफ दिए। पत्रकारले ‘कांग्रेसको उत्तराधिकारी को हुन्छ ?’ भनी सोध्दा देउवाले ‘तपाईँ हुनुहुन्छ’ भन्दै जवाफ दिए।