वीरगन्ज । पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मानव बेचबिखन रोकथाममा उत्कृष्ट कार्य गरेबापत नेपाल सरकारबाट सम्मानित भएका छन् ।
मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।
देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयको कार्यसम्पादन मूल्यांकनमा पर्सा प्रहरी कार्यालय मानव बेचबिखन विरुद्धको अभियानमा उत्कृष्ट ठहरिएको थियो। यसैको कदर गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले एसपी मिश्रलाई सम्मान गरे ।
समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले मानव बेचबिखन मानवता विरुद्धको गम्भीर अपराध भएको बताए । उनले पर्सा प्रहरीले यस अपराध नियन्त्रणमा खेलेको भूमिकाको सरकारले उच्च मूल्यांकन गरेको धारणा व्यक्त गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गत आर्थिक वर्षमा पर्सा प्रहरीले भारतमा बेचिएका नेपाली चेलीहरूको सकुशल उद्धार गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने महत्त्वपूर्ण काम गरेको जानकारी दिए । उनले नेपाल प्रहरीलाई यस्ता अपराधमा शून्य सहनशीलता अपनाउन र दोषीलाई कडा कारबाही गर्न निर्देशन पनि दिए ।