दिल्ली । भारतमा बुधबार हेलिकप्टर दुर्घटनामा परेको छ । महाराष्ट्रको पुणे जिल्लामा हेलिकप्टर दुर्घटनामा परेको हो ।
जिल्लाको बावधनमा भएको दुघर्टनामा विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु भएको छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो ।
हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो । उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको खबरमा उल्लेख छ ।
दुर्घटना पहाडी क्षेत्रमा भएको जनाइएको छ । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो ।
हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नसकेको बताइएको छ । दुर्घटनाको यकिन कारण खुलेको छैन ।
महाराष्ट्रमा गएको ४० दिनभित्र भएको यो दोस्रो हेलिकप्टर दुघर्टना थियो ।