वीरगन्ज । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ आज विश्वभरि हर्षोल्लासका साथ मनाइदै छ।
यो पर्वको अवसरमा नेपाल सरकारले मुस्लिम समुदायको लागि बिदा समेत दिएको भने मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। मुस्लिम समुदायले राजधानी काठमाडौँ लगायत देशका विभिन्न भागमा र्याली निकालेर, मस्जिदहरूमा कुरान पाठ गरेर र सामूहिक भोजन गरेर यो दिवस मनाएका छन्। काठमाडौँ, गोरखा, नेपालगन्ज, विराटनगर, वीरगन्जलागयत अन्य मुस्लिम समुदायको बसोबास रहेको क्षेत्रमा मुस्लिम समुदायले भव्य कार्यक्रमहरूको आयोजना गरेका छन्।
यस अवसरमा नेपालका राजनीतिक दलका नेताहरू, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाँलगायतका उच्च पदस्थ व्यक्तिहरूले शुभकामना सन्देश जारी गरेका छन्। उपराष्ट्रपतिले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिँदै मोहम्मदका उपदेशहरूले समाजमा शान्ति, सद्भाव र सहिष्णुतालाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले मोहम्मदको जीवनबाट त्याग, भाइचारा, र मानवताको भावनालाई आत्मसात गर्न सबैलाई आग्रह गरेका छन्।
उनीहरूले मोहम्मदले दिएका मानवता, न्याय, र समानताका सन्देशहरू आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक रहेको औंल्याएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले पनि प्रदेशमा रहेका मुस्लिम समुदायलाई शुभकामना दिँदै यो पर्वले प्रदेशमा सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।
नेपालको बहुल धार्मिक र सांस्कृतिक समाजमा विभिन्न समुदायका चाडपर्वहरूले राष्ट्रिय एकता र आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै आएको छ। मोहम्मद डे पनि यही विविधता र सहिष्णुताको प्रतीक बनेको छ।