बीरगन्ज । बारास्थित गढीमाई पञ्चवर्षिय मेलाका लागि भोली (बिहीबार) शोभा यात्रा निकालिने तयारी गरिएको छ ।
आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि बिहिबार (भोली) विहानदेखि शोभा यात्रा निकालिने तालिका बनाइएको गढीमाई पञ्चवर्षिय मेला सञ्चलाक समितिले जानकारी दिएको छ ।
गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिको आयोजनामा शोभा यात्रा निकालिन लागिएको हो ।
गढीमाई मन्दिर परिसरबाट बिहान ९ बजे शोभा यात्रा निकाल्ने तयारी गरिएको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
मन्दिर परिसरबाट निकालिने शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि नहर हुदैँ बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन रुट तय भएको मेला आयोजक समितिले जनाएको छ ।
शोभा यात्रा सभ्य तथा भव्य रुपमा निकालिने भएकोले यात्रामा सहभागी हुन सरोकारवाला निकायहरुलाई मेला सञ्चालक समितिबाट आग्रह गरिएको छ ।