ट्रेन्डिङ

वीरगन्जमा हैजा नियन्त्रणका लागि सरकारलाई रास्वपाको १० बुँदे सुझाव

वीरगन्ज । नेपाल—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वीरगन्जमा फैलिएको हैजाको संक्रमण नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ।

पार्टीले संक्रमण रोकथाम र व्यवस्थापनका लागि सरकारलाई १० बुँदे सुझाव पेस गर्दै खानेपानी मन्त्रालयमा कम बजेट विनियोजन गरिएकोमा पनि प्रश्न उठाएको छ।

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागका प्रमुख श्रीराम न्यौपानेले जारी गरेको विज्ञप्तिमा नेपालको २८.५ प्रतिशत जनसंख्याले मात्र स्वच्छ खानेपानी पाएको सरकारी तथ्याङ्क हुँदाहुँदै चालू आर्थिक वर्षमा खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड मात्र बजेट छुट्याइनुले सरकारको गैरजिम्मेवारी देखिएको उल्लेख छ।

रास्वपाका १० बुँदे सुझावहरू

आपतकालीन पानी आपूर्ति :  प्रभावित क्षेत्रमा तत्काल ट्याङ्करमार्फत शुद्ध पानी वितरण गर्नुपर्ने।

बजेट वृद्धि : दूषित पानीका स्रोत मर्मत र नयाँ शुद्धीकरण प्रणालीका लागि खानेपानी मन्त्रालयलाई विशेष बजेट विनियोजन गर्नुपर्ने।

नियमित अनुगमन : सार्वजनिक र निजी पानीका स्रोतको गुणस्तर नियमित परीक्षण र अनुगमन गर्नुपर्ने।

जनचेतना अभियान : पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने तथा सरसफाइबारे सचेतना फैलाउनुपर्ने।

स्वास्थ्य सेवा विस्तार : हैजाग्रस्त क्षेत्रमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवा सहज बनाउनुपर्ने।

स्थानीय सरकारको सक्रियता : वडास्तरमा खानेपानी आपूर्ति र शुद्धीकरणलाई प्राथमिकता दिनुपर्ने।

पूर्वाधार सुधार : आधुनिक फिल्ट्रेसन र पाइपलाइनको स्तरोन्नतिमा दीर्घकालीन लगानी गर्नुपर्ने।

समन्वय र साझेदारी : संघ, प्रदेश, स्थानीय सरकार, नागरिक समाज र सामाजिक संस्थाहरूबीचको समन्वयलाई सशक्त बनाउनुपर्ने।

स्रोत संरक्षण : नदी, इनार, तालजस्ता पानीका स्रोतलाई फोहोरमुक्त राख्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने।

नागरिकलाई अपिल : रास्वपाले पानी उमालेर मात्र पिउन, सरसफाइमा ध्यान दिन र स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आम नागरिकलाई पनि आग्रह गरेको छ।

रास्वपाले हैजाको प्रकोपलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई यी सुझावहरूमा ध्यान दिन र तत्काल कदम चाल्न अपिल गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै