वीरगन्ज । जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिएका छन्।
रुपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए। उनले गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट सोही पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।
केही समयअघि नागरिक उन्मुक्ति पार्टी त्यागेर जनमतमा प्रवेश गरेका चौधरीलाई पार्टी अध्यक्ष सीके राउतले रुपन्देहीको एक कार्यक्रममा स्वागत गरेका थिए।