जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा केही दिनदेखि हिन्दू र मुस्लिम समुदायबीच चर्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति भएको छ।
दुई समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच भएको छलफलपछि सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धतासहित विवाद समाधान गरिएको हो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार भदौ १४ र १५ गते भएको झडपमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गर्न सबै पक्ष सहमत भएका छन्। सहमतिअनुसार अबदेखि कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भाव बिथोल्ने गतिविधि गर्न पाउने छैनन्। यस्तो कार्य गर्न खोज्नेमाथि सूक्ष्म निगरानी राखी कानुनी कारबाही अगाडि बढाइने पनि निर्णय भएको छ।
यसका साथै, दुई समुदायबीच लामो समयदेखि विवादित रहेको तेलिया पोखरीको विवाद पनि व्यवस्थापन गर्ने सहमति भएको छ।
गत शनिबार गणेश पूजाको मूर्ति विसर्जन गरी फर्कँदा हिन्दू समुदायले झण्डाचोकमा रहेको टावरलाइटमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद सुरु भएको थियो। त्यसपछि दुवै पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिएको थियो।
आइतबार पुनः दुवै पक्षले लगाएको झण्डा हटाउने क्रममा तनाव बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो। सोही क्रममा २९ वर्षीय लक्ष्मण मुखियाको खुट्टामा गोली लागेर घाइते भएका थिए भने ढुंगामुढाबाट सात जना प्रहरी घाइते भएका थिए।