वीरगन्ज । वीरगन्जमा हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटीले रोकथाम तथा सचेतना अभियान सुरु गरेको छ।
यसै क्रममा रेडक्रस सोसाइटीको वीरगन्ज उपशाखाले वडा नम्बर १५ का बासिन्दाहरूलाई निःशुल्क किट वितरण गरेको छ।
किटमा जीवन जल, साबुन, पानी शुद्ध गर्ने ट्याब्लेट र पीयूष लिक्विडजस्ता अत्यावश्यक सामग्रीहरू छन्। यी सामग्रीहरूले हैजाको रोकथाम र प्रारम्भिक उपचार दुवैमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमका प्रमुख उमेश मिश्रले किट वितरणसँगै हैजासम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थानीयवासीलाई सरसफाइको महत्त्व, हात धुने तरिका, पानी उमालेर पिउनुपर्ने आवश्यकता र स्वच्छ खानपानबारे पनि जानकारी गराइएको बताए। कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सक्रिय सहभागिता थियो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले हैजा नियन्त्रणका लागि सरसफाइ र स्वच्छ पानी सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। उनले वितरण गरिएका सामग्रीहरूले परिवारलाई प्राथमिक तहमा नै सुरक्षित राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगन्जका विभिन्न बस्तीहरूमा हैजाको लक्षण देखिएको भन्दै सबैलाई सतर्क रहन अपिल गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्न, खुला ठाउँमा दिसा नगर्न र नियमित हात धुन आग्रह गरेका छन्।
रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सदस्य एवं कार्यक्रम संयोजक दयाशकर सिंहले हैजा प्रभावित वडा नम्बर १४, १५ र १६ मा पनि यस्ता कार्यक्रमहरू विस्तार गरिने जानकारी दिए। उनले ती तीन वडामा किट वितरण र तथ्याङ्क सङ्कलन गर्ने जिम्मेवारी रेडक्रसलाई दिइएको बताए।
यस अभियानमा रेडक्रस सदस्य गुडी कुमारी साहको नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो र राजु साह लगायतका स्वयंसेवकहरू सहभागी थिए।